गृहमन्त्री अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच आज भेटवार्ता भएको छ ।
निर्वाचन आयोगको कार्यालयमा भएको भेटमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई ,निष्पक्ष, पारदर्शी एवम् भयमुक्त वातावरणमा सम्पन्न गर्न समग्र शान्ति सुरक्षा र निर्वाचनको समय व्यवस्थापनको तयारीका बारेमा छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
छलफलमा गृहमन्त्री अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्य गरिरहेको बताउनुभयो । शान्ति सुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकार कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्री अर्यालले सरकारले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवम् सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी गराउनुहुँदै यसका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई कार्य गरिरहेको र आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन ,सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको समेत बताउनुभयो ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराउनुभयो ।
उहाँले निर्वाचन व्यवस्थापनका क्रममा संविधान, निर्वाचन सम्बन्धी कानुन ,निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि एवम् क्रियाकलापप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने बताउनुभयो ।कुनै पनि पक्षबाट हुने दण्डहीनता आयोगलाई मान्य नहुने पनि उहाँले उल्लेख गर्नुभयो ।
छलफलमा निर्वाचन आयुक्त द्वय डा.जानकी कुमारी तुलाधर , सगुन शमशेर जबरा ,निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत , गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्