तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा हरित निर्वाचनलाई प्राथमिकता, ३ हजारभन्दा बढी कर्मचारी परिचालन

'डिजिटल प्रचार र फोहोर व्यवस्थापनमा जोड'

मकवानपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई वातावरणमैत्री बनाउने लक्ष्यसहित मकवानपुरमा हरित निर्वाचन (Green Election) अवधारणालाई विशेष प्राथमिकता दिइने भएको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार आयोगले यो निर्वाचनलाई वातावरणमैत्री हरित निर्वाचन बनाउने लक्ष्य लिएको हुँदा सोही अनुसार जिल्लामा पनि कार्यान्वयन गरिने भएको हो ।

बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले अनुसार मकवानपुरमा निर्वाचन प्रक्रियाबाट वातावरणमा पर्ने असर न्यूनीकरण गर्ने उपाय, हरित निर्वाचनका अभ्यासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । प्रमुख ढकालले निर्वाचन केवल राजनीतिक प्रक्रिया मात्र नभई सामाजिक र वातावरणीय जिम्मेवारीसँग पनि जोडिएकोले अनावश्यक कागज, फ्लेक्स, प्लास्टिक तथा प्रदूषणजन्य सामग्रीको प्रयोग घटाउँदै डिजिटल सूचना प्रवाह, पुनः प्रयोगयोग्य सामग्री र फोहोर व्यवस्थापनलाई निर्वाचनको अभिन्न अङ्गका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख ढकालले पोस्टर, पम्प्लेट र ब्यानरको सीमित प्रयोग, डिजिटल माध्यममार्फत प्रचार–प्रसार, ध्वनि प्रदूषण नियन्त्रण, मतदान केन्द्रमा फोहोर व्यवस्थापन तथा कार्बन उत्सर्जन घटाउने उपायहरू अपनाउनु पर्नेमा भन्दै हरित निर्वाचन अवधारणालाई व्यवहारमा उतार्दै वातावरणमैत्री र जिम्मेवार बन्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

मकवानपुरमा निर्वाचनका लागि तीन हजार बढी कर्मचारी परिचालन हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरमा तीन हजार भन्दा बढी कर्मचारी परिचालन हुने भएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडा प्रमुख हरि प्रसाद ढकालका अनुसार निर्वाचनमा ३ हजार ३६६ कर्मचारी परिचालन हुने भएका हुन् । 

निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको भन्दै उहाँले निर्वाचन कार्यालयबाट २,२४४ जना र मतदान केन्द्रमै नियुक्त हुने १,१२२ जना कर्मचारी परिचालन हुने जानकारी दिनुभयो । यस बाहेक निर्वाचनमा करिब १ हजार प्रहरी र १ हजार ९२३ निर्वाचन प्रहरी परिचालन हुने छन् । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्रमा कुल ३ लाख १५ हजार ३३४ मतदाता कायम छन् । जसमा क्षेत्र नम्बर १ मा पुरुष ७९६२१, महिला ७८,८१० र अन्य ४ गरी १,५८,४३५ र क्षेत्र नम्बर-२ मा ८२३३२ पुरुष, ७४,५६६ महिला र १ अन्य गरी १५६८९९ मतदाता छन् । 

यस्तै मकवानपुर क्षेत्र नम्बर १ मा ४० वटा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । भने, क्षेत्र नम्बर २ मा ६२ वटा वडा, १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र कायम भएको कार्यालयले जनाएको छ । यस बाहेक पनि जिल्लामा कैदीबन्दीका लागि भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडामै गरी दुई वटा निर्वाचन केन्द्र थप हुन सक्ने ढकालले बताउनुभयो ।  

१९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा 
प्रतिनिधिसभा निर्वाचनकालागि मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले ६ स्थानीय तहका ती मतदानस्थलहरुलाई अति संवेदनशील, ६० मतदानस्थललाई संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अनुसार अति संवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । सबैभन्दा बढी जिल्लाको बकैया गाउँपालिकामा ५ मतदानस्थलका ७ केन्द्र अति संवेदनशीलमा परेका छन् । यस्तै राक्सिराङमा ६, बागमतीमा ५, भीमफेदी, मनहरी र कैलाशमा एक–एक मतदान स्थल अति संवेदनशील सूचीमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button