तपाईँ सुन्दै हुनुहुन्छः

‘नीति, विधि र प्रक्रियाभित्र रहेर काम गर्न सरकारलाई सांसदहरूको सुझाव’ 

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सरकारले नयाँ गर्ने नाममा बजेट रोकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाका बजेट रोक्न नहुने बताउनुभयो । 

सांसदहरूले सरकारले साझा हित, लक्ष्य र उद्देश्यलाई ध्यानमा राख्दै निष्पक्ष चुनावी वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

नीति, विधि र प्रक्रियाभित्र रहेर काम गर्न सरकारलाई सुझाव दिँदै सांसदहरूले राज्यका तीन वटै अङ्गहरूले प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न सके मात्रै देशमा सुशासन कायम गर्न सकिने बताउनुभयो ।

उहाँहरूले भदौ २३ गतेको आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रण सुशासनको माग जायज भएपनि २४ गतेको घटना जायज नभएको र त्यसले देश र समाजमा देखिएको बैमनस्यता अन्त्य गर्न नसकेको बताउनुभयो ।

सांसदहरूले देशको संवैधानिक अङ्गहरू र न्यायालय समेत बोल्न नसक्ने अवस्थामा पुगेको भन्दै ज्युँदो अवस्थामा रहेको राष्ट्रिय सभालाई पनि हेलो र होचो नगर्न आग्रह गर्नुभयो ।

उहाँहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले प्रभावकारी रूपमा आ–आफ्ना भूमिका निर्वाह गर्न सके देशमा सुशासन काय गर्न सकिने र यसतर्फ तीन वटै निकाय गम्भीर नबन्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

भ्रष्टाचार र महिला हिंसा विरुद्ध सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा जोड दिँदै सांसदहरूले प्रविधिको प्रयोगमा थप सुधार आवश्यक रहेको औँल्याउनुभयो । 

बैठकमा सांसद माया प्रसाद शर्मा, नारायण दत्त भट्ट, सुमित्रा बि सी, भुवन बहादुर सुनार, विष्णुकुमारी सापकोटा र कृष्णप्रसाद अधिकारीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

बैठकको शून्य समयमा सांसदहरूले जाजरकोट भूकम्पका पीडितहरूलाई राहत वितरण र  सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचनाको प्रसार रोक्न प्राथमिकता दिनपर्ने लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button