हिमपातसँगै पोरखेगढिमा पर्यटकको चहलपहल बढ्यो
बाजुरा। बाजुराको बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल पोरखेगढिमा हिमपात भएपछि आन्तरिक पर्यटकको संख्या बढेको छ। यस वर्ष शुक्रबार राति पहिलो पटक हिमपात भएपछि पोरखेगढि हिउँ खेल्ने र घुमफिर गर्नेको आकर्षक गन्तव्य बनेको हो।
हिमपातपछि दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटक पोरखेगढिमा पुग्ने गरेको बडिमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार एक पटक हिमपात भएमा यहाँ दुईदेखि तीन महिनासम्म हिउँ टिकिरहन्छ। हाल करिब १० इन्च बाक्लो हिउँ जमेको छ।
हिउँले ढाकिएको पोरखेगढिको प्राकृतिक दृश्य अवलोकन गर्न, हिउँ खेल्न र तस्बिर खिच्न बाजुरासँगै छिमेकी अछाम र मुगु जिल्लाबाट समेत पर्यटक आउने गरेका छन्। चिसो मौसम भए पनि पर्यटकको उत्साहमा कमी नआएको स्थानीयले बताएका छन्।
पर्यटक बढेसँगै स्थानीय होटल, चिया पसल र साना व्यवसायमा चहलपहल बढेको छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ।
पोरखेगढिमा सडक, आवास र अन्य पूर्वाधारको विकास तथा प्रवर्द्धन गर्न सके आन्तरिक र बाह्य पर्यटक थप आकर्षित गर्न सकिने विश्वास स्थानीयले व्यक्त गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्