गाउँघरमा हराउँदै छ ‘हलो’
दोलखा । सहजता र समय बचतको नाममा खेतबारी जोत्न ट्याक्टरको प्रयोग बढेपछि गोरुको प्रयोग गरी खेत– बारी जोत्ने परम्परागत प्रविधि ‘हलो’ लोप हुँदै गएको छ । ‘हलो’ लोप हुँदै जानु अर्ग्यानिक र स्वादिष्ठ कृषि उत्पादनको लागि चुनौँ बनेको कृषकहरू बताउँछन् ।

दोलखाको कालिन्चोक गाउँपालिका–६ चाईथलीका कृषक तारा बहादुर कार्की खेत– बारी जोत्ने कुरामा ट्याक्टरको प्रयोगले क्षणिक फाइदा देखिए पनि दीर्घकालीन रुपमा आर्थिक तथा अर्ग्यानिक कृषि उत्पादनमा समस्या ल्याउने बताउँछन् ।
आफूले विगत ३० वर्षदेखि नियमित रुपमा खेत– बारी जोत्न ‘हलो’कै प्रयोग गरेको बताउने कृषक ताराबहादुर कार्की ट्याक्टरको प्रयोग उत्पादन, उत्पादित वस्तुको गुणस्तर र आर्थिक सबै हिसाबले ठिक नभएको जिकिर गर्छन् ।
ट्याक्टरको प्रयोग गर्नु जोखिम पनि छ, चाईथलीका कृषक कार्की भन्छन्– यसको प्रयोगमा सावधानी अपनाउन सकिएन भने ठुलै दुर्घटना हुन सक्छ । ट्याक्टरले ‘हलो’को प्रयोगमा जस्तो गहिरो बनाएर जोत्न नसकिने भएकोले कृषि उत्पादनमा ह्रास आउने र अन्न– बालिको स्वाद पनि मिठो नहुने समस्या देखिएको कार्कीको भनाई छ ।
कृषकहरू क्षणिक फाइदाको लागि ट्याक्टर तिर आकर्षित हुँदा गाउँ–घरमा परम्परागत प्रविधि ‘हलो’ भने लोप हुँदै गएको कार्की बताउँछन् ।
केही बर्ष अघिसम्म कालिन्चोक गाउँपालिका–६ को चाईथली, दार्पा, थाङबरु, गुर्जपा लगायतका गाउँका प्रत्येक घरमा एक हल गोरु हुने गरेकोमा अहिले मुश्किलले सबै गाउँमा गरेर ६ हल गोरु मात्र रहेको कार्कीले बताए ।
अहिलेको मूल्य अनुसार एक हल गोरुको ७० हजार रुपैयाँसम्म पर्ने र एक हल गोरुले तीन पुस्तासम्म जोत्न सकिने कार्कीको अनुभव छ । ट्याक्टरको मूल्य ४०/४५ हजार पर्ने र स्थानीय पालिकाले अनुदान दिँदा २० हजार जतिमा ट्याक्टर आउने भएकोले क्षणिक फाइदा देखिएको उनको भनाई छ । तर ट्याक्टर चाँडै बिग्रने भएकोले आर्थिक रुपमा समेत ‘हलो’ नै उपयुक्त हुने कार्की बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्