तपाईँ सुन्दै हुनुहुन्छः

‘नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक’

नेपालगञ्ज । नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकोमा जोड दिइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आज नेपालगञ्जमा गरिएको नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको पैरवी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सचेतीकरण प्रवर्द्धनमा जोड दिइएको हो ।

स्वस्थकर खानपान, सुदृढ जीवनशैली, नियमित व्यायाम, तौल नियन्त्रण, नियमित स्वास्थ्य चेकजाँचका लागि सर्वसाधारणलाई प्रेरित गर्न सचेतना र स्वास्थ्य शिक्षा आवश्यक रहेको सरोकारवालाको भनाई छ । धूम्रपान र मद्यपानले जोखिम बढाएकोले सजग बन्नुपर्ने आवश्यकता औँल्याइएको छ । युवा पुस्ताको लागि धूम्रपान र मद्यपान ठूलो चुनौती रहेकोले त्यस्तो लत छोड्न सुझाइएको छ । 

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका डा. शंकुक भट्टले नसर्ने रोगको कारण, अवस्था, असर र रोकथामबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेश नसर्ने रोगको अवस्थाबारे पनि चित्रण गर्नुभएको थियो । यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानियाले नसर्ने रोगको रोकथाममा नागरिक समाजको भूमिका र पैरवीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले स्वस्थ जीवनशैली अपनाउन सके मात्र नसर्ने रोग विरुद्धको लडाइँमा खरो उत्रिन सकिने बताउनुभयो । उहाँले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिने गरी आफ्नो आनीबानीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उपभोक्ता हित संरक्षण मञ्च नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रभात कुमार ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालकी नर्सिङ प्रशासक आशा पन्थ, खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष पवन कुमार गुप्ताले नसर्ने रोगको बढ्दो प्रभाव रोक्न सचेत बन्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेका अध्यक्ष सुरेश गौतमले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन केन्द्रिय सचिव बसन्त गौतमले गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button