तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्यमा कोशी प्रदेशबाट एमालेका मेचे र पोर्तेल निर्वाचित

विराटनगर  । राष्ट्रियसभा सदस्यमा कोशी प्रदेशबाट एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा महिलातर्फ एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नुभयो । मेचेले ७ हजार १७३ मतभार प्राप्त गरी विजयी हुनुभयो भने न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गर्नुभयो । 

यसैगरी दलितबाट नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गर्नुभयो  । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गर्नुभयो भने सुन्दासले २ हजार २७ मत प्राप्त गर्नुभयो ।

कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरू मध्ये नेपाली काँग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रदेशसभामा नेपाली काँग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए ।

प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्दाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट नाम हटाइएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र एमालेले ७ वटै प्रदेशमा गठबन्धन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button