निर्वाचन आयोग र राष्ट्रिय सूचना आयोगका पदाधिकारीबिच भेट
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सम्बन्धमा निर्वाचनसँग सम्बन्धित सूचना नागरिक र मतदातालाई सत्यतथ्य रुपमा सम्प्रेषण गर्ने तथा गलत (Mis-Information) र भ्रामक सूचना (Dis-Information) नियमन तथा नियन्त्रणका विषयमा निर्वाचन आयोग र राष्ट्रिय सूचना आयोगका पदाधिकारीबिच छलफल भएको छ।
छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यक्रम अनुसार आयोगले चुस्त रुपमा निर्वाचन तयारी गरिरहेको अवगत गराउनुभयो। साथै राष्ट्रिय सूचना आयोगका पदाधिकारीले निर्वाचन तयारीका साथै संविधान–कानुन प्रदत्त नागरिकको सूचना पाउने हक तथा वैयक्तिक गोपनीयताको हकको संवर्द्धनमा चनाखो भइदिन सुझाव दिनुभयो।
छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त सगुन शम्शेर जबरा, तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य, सूचना आयुक्तद्वय गगन विष्ट र दुर्गा भण्डारी पौडेलका साथै निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत सहभागी हुनुहुन्थ्यो।
छलफलमा निर्वाचन महत्वपूर्ण राष्ट्रिय कार्यक्रम भएकाले यस कार्यमा सहकार्य गरेर जाने समझदारी समेत भएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्