टाइगर कप भलिबल : आजका खेलमा न्यू डायमन्ड र थाइल्याण्ड क्विन्सको जित
पोखरा । पोखरामा जारी एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता अन्तर्गत आज (आइतबार) महिलातर्फ न्यू डायमन्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्सले जित हासिल गरेका छन् ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) क्लब माथि ३–० को सोझो सेटको जित हासिल गरेको हो । न्यू डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
महिला तर्फको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौँ सेटमा पराजित गर्यो । पहिलो दुई सेट गुमाएको थाइल्यान्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित आफ्नो पक्षमा पार्दा थाइल्यान्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पारेसँगै पाँचौँ सेट १६–१४ को सेटमा जित निकालेको हो ।
आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबल सङ्घले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित गर्यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ मा जित निकालेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएको आयोजक संस्था टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । सिङ्गल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्