डडेल्धुरामा महिला मृत्यु प्रकरण: प्रहरी सहायक हवल्दारमाथि थप अनुसन्धान गरिने
डडेल्धुरा। डडेल्धुरामा एक महिलाको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी सहायक हवल्दार तथा चालक यज्ञबहादुर साउँदमाथि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार भागेश्वर गाउँपालिका–३ घर भई हाल अमरगढी नगरपालिका–४, जिल्ला प्रहरी कार्यालय नजिकै बसोबास गर्दै आएकी सरिता गिरी शुक्रवार आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
मृतक गिरीले सामाजिक सञ्जाल फेसबुकमा प्रहरी सहायक हवल्दार साउँदलाई लक्षित गर्दै लामो सुसाइड नोट सार्वजनिक गरेपछि घटना बाहिरिएको हो। सुसाइड नोटमा साउँदले नगद १५ लाख रुपैयाँ र केही गरगहना लिएर फिर्ता नगरेका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेकाले आइतबार मात्र पीडित पक्षबाट किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सूचना अधिकारी तथा प्रहरी निरीक्षक धनि चन्दका अनुसार जाहेरी दर्ता भएसँगै घटनाको थप अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्