तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा प्रतिनिधिसभा चुनावको चहलपहल तीव्र, १३३ उम्मेदवार मैदानमा

सर्लाही। सर्लाही जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको चहलपहल तीव्र बन्दै गएको छ। चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचन क्षेत्र अनुसार क्षेत्र न-१ बाट २९ जना, क्षेत्र न-२ बाट ३१ जना, क्षेत्र न- ३ बाट ३४ जना र क्षेत्र न-४ बाट ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सर्लाहीमा कुल १३३ जना उम्मेदवार रहेकाले यस पटकको निर्वाचनमा चहलपहल अन्य समयको तुलनामा बढी देखिएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सभापति गगन थापा सर्लाही क्षेत्र न-४ बाट उम्मेदवार बनेका छन्। उहाँलाई काँग्रेसभित्र भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा पनि हेरिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश कुमार सिंह पनि चुनावी प्रतिस्पर्धामा रहेका छन्।

सर्लाही क्षेत्र न-२ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। उनलाई राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कडा चुनौती दिएका छन्। यी शीर्ष नेताहरूको प्रतिस्पर्धाका कारण सर्लाहीको चुनावी माहोल थप तातेको छ।

सर्लाहीमा महिला उम्मेदवार ६ जना मात्र

सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १३२ जनामध्ये महिला उम्मेदवार केवल ६ जना मात्र रहेका छन्। तीमध्ये ३ जना स्वतन्त्र र ३ जना राजनीतिक दलबाट उम्मेदवार बनेका हुन्।

निर्वाचन क्षेत्र न-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा भण्डारी कार्की एकमात्र महिला उम्मेदवार रहेकी छन्। क्षेत्र न-२ बाट कञ्चन चौधरी स्वतन्त्र उम्मेदवारको रूपमा दर्ता भएकी छन्। क्षेत्र न-३ बाट नेपाल मजदुर किसान पार्टीकी रामा कोइराला र स्वतन्त्र उम्मेदवार लक्ष्मी कुमारी अधिकारी उम्मेदवार रहेकी छन्। यस्तै क्षेत्र न-४ बाट आम जनता पार्टीबाट एक महिला उम्मेदवार मैदानमा रहेकी छन्।

सर्लाहीमा उम्मेदवारको सङ्ख्या धेरै भए पनि महिला सहभागिता न्यून देखिएको छ, जसले समावेशिताको सवाललाई पुनः उठाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button