तपाईँ सुन्दै हुनुहुन्छः

बालिका शिक्षामा जोड: जानकी गाउँपालिकाले सुरु गर्‍यो कन्या विद्यालय

बाँके। मधेश तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयसम्म टिकाइ राख्ने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ। सामाजिक परम्परा, सुरक्षा चिन्ता र पहुँचको अभावका कारण विद्यालयबाट टाढा रहेका छोरीहरूका लागि यो विद्यालय आशाको केन्द्र बनेको छ।

शैक्षिक सत्र २०८० देखि जानकी गाउँपालिका–३ मानपुरस्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयमा छात्राका लागि मात्रै कक्षा ८ सम्म अध्यापन सुरु गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायका अनुसार हाल विद्यालयमा ४२० जना छात्रा अध्ययनरत छन्। उहाँले कक्षा १२ सम्म विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिनुभयो।

गाउँपालिकाले ९० लाख रुपैयाँको लागतमा कन्या विद्यालय सञ्चालन गरेको हो। सङ्घीय सरकारको विशेष अनुदानबाट प्राप्त ५० लाख रुपैयाँबाट विद्यालयको पर्खाल र शौचालय निर्माण गरिएको छ भने गाउँपालिकाले थप ४० लाख रुपैयाँ विनियोजन गरी आवश्यक पूर्वाधार तयार पारेको छ। नेपालगञ्जपछि जिल्लामा कन्या विद्यालय सञ्चालन गर्ने दोस्रो स्थानीय तहका रूपमा जानकी गाउँपालिका चिनिएको छ।

गाउँपालिका अध्यक्ष छब्बन खाँका अनुसार विद्यालयमा निःशुल्क शिक्षा, शैक्षिक सामग्री, पोसाक, यातायात, स्वच्छ खानेपानी र शौचालयको व्यवस्था गरिएको छ। छवटै वडाबाट छात्रालाई समेट्ने गरी यातायातको व्यवस्था गरिएको र आवश्यकताअनुसार साधन थपिँदै जाने उहाँले बताउनुभयो।

अभिभावकको सुरक्षा चिन्तालाई ध्यानमा राख्दै विद्यालयमा शिक्षिका तथा कर्मचारी महिला मात्र राखिएको छ। गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवका अनुसार मधेश तथा मुस्लिम समुदायमा छोरीलाई घरबाहिर पठाउन अभिभावकमा सङ्कोच हुने भएकाले अलग्गै कन्या विद्यालय सञ्चालन गरिएको हो। घरदेखि विद्यालय र विद्यालयदेखि घरसम्म सुरक्षित यातायातको व्यवस्था भएपछि अभिभावकहरू ढुक्क भएका उहाँले बताउनुभयो।

जानकी गाउँपालिकामा हाल ४५ वटा विद्यालय सञ्चालनमा छन्। सामाजिक विकास समिति संयोजक राम अचल धोबीले अब विद्यालयको स्तर वृद्धि गर्दै गुणस्तरीय शिक्षामा केन्द्रित हुने बताउनुभयो। शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीका अनुसार विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ र आगामी शैक्षिक सत्रबाट कक्षा ९ सञ्चालन गरिनेछ।

सूचना प्रविधि अधिकृत विकास जिसीले कन्या विद्यालयसँगै डिजिटल शिक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार कम्प्युटर ल्याब, आधारभूत सूचना प्रविधि शिक्षा र डिजिटल सिकाइ सामग्री प्रयोग गरिएको छ। आगामी दिनमा अनलाइन कक्षा र ई–लर्निङ सामग्री विस्तार गरिनेछ।

परम्परागत सोच र संरचनागत अवरोधबीच छोरीहरूको भविष्य उज्यालो बनाउने लक्ष्यसहित सञ्चालनमा आएको जानकी गाउँपालिकाको कन्या विद्यालय शिक्षामार्फत सामाजिक रूपान्तरणको उदाहरण बनेको छ। यहाँ छात्राहरू शिक्षा मात्र होइन, आत्मविश्वास र सुरक्षित भविष्यतर्फ अघि बढिरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button