हिमपातले सेताम्य बनेका बाजुराका उच्च लेकाली भेग (फोटोफिचर)
बाजुरा। बाजुराका उच्च लेकाली भेग यो वर्षमा पहिलो पटक हिमपातले सेताम्य बनेका छन्।

शुक्रवार रातिदेखि उच्च हिमाली तथा पहाडी लेकाली भेगमा हिमपातसँगै वर्षा भएपछि उजाड हिमालहरू सेताम्य भएका हुन् भने ।बर्षात सँगैको हिमपातले यहाँका किसानहरू उत्साहित भएका छन्। लामो समयसम्म पानी नपर्दा बाली सुक्ने र खाद्य सङ्कट उत्पन्न हुने चिन्ता बढिरहेका बेला भएको हिमपात र वर्षाले कृषकलाई ठुलो राहत मिलेको छ।

हिमपातसँगै परेको वर्षाले गहुँ, जौ, आलु लगायतका हिउँदे बाली सप्रिने आशा बढेको स्थानीय कृषकहरूको भनाइ छ। बुढीगंगा नगरपालिका–२ का कृषक मंगल विकले लामो समयदेखि वर्षा नहुँदा बाली नष्ट हुने डर रहेको भए पनि “हिमपात र वर्षासँगै अब बाली राम्रो हुने आशा पलाएको छ,” उहाँले बताउनुभयो।

यसअघि बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयसम्म न त वर्षा भयो न त हिमपात नै। समयमै पानी नपर्दा खेतबारी सुक्दै जानुका साथै भोकमरीको जोखिम बढ्ने आशङ्काले किसानहरू चिन्तित बनेका थिए।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीले केही ढिला भए पनि हिमपात र वर्षाले कृषिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। “समयभन्दा केही पछि भए पनि अहिले भएको हिमपात र वर्षाले माटोमा चिस्यान कायम राख्न मद्दत गर्छ, जसले हिउँदे बालीलाई राम्रो उत्पादन दिन सक्ने,” उहाँको भनाइ छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार पर्याप्त वर्षा भएकाले आगामी दिनमा खाद्यान्न उत्पादनमा सुधार आउने सम्भावना छ। यसले किसानको जीविकोपार्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।








प्रतिक्रिया राख्नुहोस्