तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा ३९ मतदानस्थल संवेदनशील सूचीमा, सीमावर्ती क्षेत्रमा विशेष निगरानी

बाँके । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बर्दिया जिल्लाका ३९ मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ। दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर १ का २४ र क्षेत्र नम्बर २ का १५ मतदानस्थल संवेदनशील सूचीमा परेका हुन्।

भारतसँग सीमा जोडिएका पालिकाभित्र पर्ने मतदानस्थललाई सुरक्षा संवेदनशील मानिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार जिल्लामा हाल शान्ति सुरक्षाको अन्य कुनै ठूलो जोखिम नरहेकाले अति संवेदनशील मतदान केन्द्र भने छैनन्। उहाँले सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाइने जानकारी दिनुभयो।

आगामी निर्वाचनलाई लक्षित गर्दै बर्दियामा यसपटक ११ मतदानस्थल थपिएका छन्। जिल्लामा कुल ३ सय ८७ मतदानस्थल रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा अनुप ढकालका अनुसार क्षेत्र नम्बर १ मा ७५ मतदानस्थल र १ सय ९९ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा १ सय ८८ मतदानस्थल रहेका छन्।

यस निर्वाचनमा बर्दिया जिल्लामा कुल ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेका छन्। तीमध्ये क्षेत्र नम्बर १ मा १ लाख ६८ हजार र क्षेत्र नम्बर २ मा १ लाख ५५ हजार २ सय ३२ मतदाता छन्। २०७९ सालको निर्वाचनमा भने जिल्लामा ३ लाख ११ हजार ४ सय १० मतदाता रहेका थिए, जसअनुसार यसपटक मतदाता सङ्ख्या बढेको देखिन्छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयले समन्वय गर्दै आवश्यक तयारी तीव्र पारेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button