तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा बज्न थाले पञ्चेबाजा, नयाँ पुस्ता संरक्षणमा सक्रिय

बाजुरा । पछिल्लो समय लोप हुँदै गएको परम्परागत पञ्चेबाजा बाजुराका गाउँ–बस्तीमा पुनः बज्न थालेको छ। विवाह, व्रतबन्ध, पूजाआजा तथा विभिन्न शुभ कार्यमा पञ्चेबाजाको प्रयोग बढ्दै गएसँगै स्थानीय संस्कृतिको पुनर्जीवन सुरु भएको हो।

आधुनिक बाजा र डिजे साउन्डको प्रयोग बढेसँगै ओझेलमा परेको पञ्चेबाजा पछिल्ला वर्षहरूमा पुनः देखिन थालेको छ। रमाइलोसँगै मौलिक संस्कृति र परम्परा जोगाउने उद्देश्यले नयाँ पुस्ता पनि पञ्चेबाजा संरक्षणमा जुट्न थालेका छन्। यसले बाजुराको मौलिक पहिचानलाई जीवन्त बनाउने विश्वास लिइएको छ।

बडिमालिका नगरपालिका–५ का स्थानीय दमाहा वादक जंग दमाइका अनुसार काम अनुसारको उचित पारिश्रमिक नपाउँदा केही समय पञ्चेबाजा बजाउने पेशा सङ्कटमा परेको थियो। “आम्दानी नहुँदा धेरै कलाकारहरू अन्य पेसातर्फ लाग्न बाध्य भयौँ,” उहाँले भन्नुभयो, “तर आफ्नो सीप, कला र पहिचान जोगाउन फेरि सक्रिय भएका छौँ।” स्थानीय स्तरमा लोकप्रिय झ्याली, कर्नाली र दमाहा बजाइने पञ्चेबाजा बाजुराको सांस्कृतिक धरोहरको रूपमा लिइन्छ।दमाई,नेपाली लगायत जातिको परम्परागत पेसाका रुपमा लिइने पञ्चेबाजा पछिल्लो समय गाउँ–गाउँमा घन्किन थालेका छन् भने युवा पुस्ताले पनि सिक्न रुचि देखाउन थालेका छन्।

त्रिवेणी नगरपालिका–९ पैमाका पञ्चेबाजा वादक तथा संस्कृतिका जानकार धर्म नेपालीले तीनै तहका सरकारले पञ्चेबाजा संरक्षणका लागि निश्चित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “यदि संघ, प्रदेश र स्थानीय सरकारले तालिम, प्रोत्साहन र बजेटको व्यवस्था गर्न सके यसको जगेर्ना र पुस्तान्तरण गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो।

स्थानीयको सक्रियता र बढ्दो चासोसँगै बाजुरामा पञ्चेबाजाले फेरि पुरानै रौनक फर्काउने सङ्केत देखिएको छ। यसले स्थानीय कलाकारको रोजगारी र सम्मानसमेत बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button