एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका–१ पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
शुक्रबार दिउँसो पौने १२ बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजार निवासी अन्दाजी ३० वर्षका अशोक महतो र बिआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२ हजमिनिया निवासी अन्दाजी २९ वर्षका अरबिन्द महतो गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा चिकित्सकले दिउँसो १२ बजे दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्