तपाईँ सुन्दै हुनुहुन्छः

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी । पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगर स्तरीय कृषि जैविक विविधता मेलामा पोखरा क्षेत्रमा पाइने ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शन गरिएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास शाखाको आयोजना एवं पोखरा महानगरपालिका–३१, वडा स्तरीय कृषि सञ्जाल, लिबर्ड र जैविक स्रोत संरक्षण अभियानको सहकार्यमा जैविक विविधता प्रदर्शनी गरिएको हो ।

उत्पादक र उपभोक्तासँगै सरोकारवालाको उपस्थितिमा गरिएको प्रदर्शनीमा पोखरा महानगरका २३ वटा वडा सहभागी बनेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । 

स्थानीय रैथाने प्रजातिका बालीको संरक्षण आवश्यक रहेको बताउँदै उहाँले त्यसको संरक्षणका लागि सचेतना जगाउनका लागि पनि मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।

मेलामा १०० भन्दा बढी जडीबुटी, ६५ थरी धान, रैथाने मसाल बाली, कोशे बाली आदिका प्रजातिहरू प्रदर्शनमा राखेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button