तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय जुम्लाको अर्धवार्षिक राजश्व सङ्कलन १६ करोड, लक्ष्य भेटाउन कठिन

जुम्ला । आन्तरिक राजश्व कार्यालय जुम्लाले अर्धवार्षिक राजश्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन । चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक राजश्व सङ्कलनको लक्ष्य भेटाउन कार्यालयलाई मुस्किल भएको हो । 

चालु आर्थिक वर्षको साउन देखी पुष मसान्त सम्म २० करोड १३ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको राजश्व कार्यालयले १५ करोड ९८ लाख मात्रै राजश्व असुली गरेको छ । ६ महिनाको लक्ष्यअनुसार ३ करोड ११ लाख राजश्व उठाउन सकेको छैन । 

जुम्ला, कालिकोट र मुगु गरी तीन जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय जुम्लाले लक्ष्यअनुसार राजश्व असुली गर्न चुक्दै आएको छ । आन्तरिक राजश्व कार्यालय जुम्लाको चालु आर्थिक वर्षको वार्षिक राजश्व सङ्कलनको लक्ष्य ६४ करोड रहेको छ । तर उक्त लक्ष्य भेटाउन कार्यालयलाई मुस्किल पर्ने देखिएको छ ।

६ महिनामा झण्डै १६ करोड मात्रै राजश्व उठ्दा वार्षिक लक्ष्य अनुसार झण्डै ४८ करोड असुली गर्न बाँकी छ । अर्धवार्षिक राजश्व सङ्कलनको गतिलाई हेर्दा लक्ष्य अनुसार वार्षिक सङ्कलन हुनेमा शङ्का देखिएको छ । 

आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेले लक्ष्य अनुसार राजश्व असुलीका करदाता शिक्षा लगायतका कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । उहाँका अनुसार जुम्लामा कुल १९ हजार ४२ जना करदाता रहेका छन् । जसमा आयकर तर्फ १६ हजार ७७५ जना, जसमध्य भ्याट तर्फ एक हजार ६ सय ८७, अन्तःशुल्क तर्फ ८५० जना गरी कुल १९ हजारबढी करदाता रहेका छन् । 

६ महिनामा सङ्कलन भएको झण्डै १६ करोड राजश्व मध्य आयकर तर्फ ११ करोड ९० लाख,भ्याट तर्फ ३ करोड ४४ लाख र अन्तःशुल्क तर्फ ६३ लाख ६६ हजार र अन्य शीर्षक गरी १६ करोड राजश्व सङ्कलन भएको हो । 

अर्धवार्षिक राजश्व सङ्कलनको लक्ष्य भेटाउन काम मुस्किल भएपनि वार्षिक राजश्व लक्ष्य भेटाउने गरी प्रयास भइरहेको प्रमुख घिमिरेले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘भौगोलिक हिसाबले विकट कालिकोट र मुगुका करदाता राजश्व बुझाउन अलि समस्या छ । आर्थिक वर्ष सकिने समय सम्म अनिवार्य बुझाउन आउँछन् । बीचमा हामी सचेतना पनि दिन्छौ । जसरी पनि लक्ष्य भेटाउने अभियानमा छौ ।’

जुम्लामा व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने, समयमै कर नबुझाउने, आम्दानी लुकाउने जस्ता समस्या देखिएकाले यस्ता समस्या समाधानका लागि करदाता शिक्षालाई निरन्तरता दिइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button