वीरगञ्ज नाकाबाट ६ महिनामा ४८ अर्बभन्दा बढीको नेपाली उत्पादन निर्यात
वीरगञ्ज। मुलुकको प्रमुख भन्सार नाका बीरगंज हुँदै आर्थिक बर्ष २०८२/०८३ को ६ महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ४८ अर्ब १० करोड ६६ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।
गत आर्थिक बर्ष २०८१/०८२ को ६ महिनाको तुलनामा यस आर्थिक वर्षको साउन देखि पुस महिना सम्ममा ५२ प्रतिशतले निर्यात बृद्घि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०८१/०८२ को साउन, भदौ, असोज, कार्तिक, मङ्सिर र पुस महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ३१ अर्ब ६७ करोड ३४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।
वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।
वीरगन्ज भन्सार नाका हुँदै आर्थिक बर्ष २०८२/०८३ को ६ महिनामा सबैभन्दा धेरै मटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । साउन, भदौ, असोज, कार्तिक मङ्सिर, र पुसमा वीरगंज नाकाबाट मात्रै २५ अर्ब ४२ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसै गरी वीरगंज नाकाबाट सो अवधिमा ३ अर्ब ४८ करोड ५५ लाख मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।
६ महिनाको अवधिमा ३ अर्ब ५५ करोड ४३ लाख मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने २ अर्ब २५ करोड ८१ लाख मूल्य बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।
साउन, भदौ, असोज, कार्तिक मङ्सिर र पुस महिनामा १ अर्ब ७८ करोड ६७ लाख मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।
६ महिनामा १ अर्ब २ करोड ८५ लाख मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगंज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।
वीरगंज नाकाबाट सो अवधिमा १ अर्ब २ करोड ४ लाख मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । त्यसै गरी सो अवधिमा १ अर्ब २७ करोड ५४ लाख मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ, ५७ करोड मूल्य बराबरको सवारी साधन,मेसिनरी तथा पाट पुर्जा, ७९ करोड ८९ लाख मूल्य बराबरको आयुर्वेदिक औषधि, ६० करोड ५७ लाख मूल्य बराबरको कुकुर तथा बिरालाको खाना र ७६ करोड मूल्य बराबरका बोसो मैन तेस्रो मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले बताउनु भयो ।
बीरगंज भन्सार नाकाबाट तोरीको तेल,मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन, रेसाको कपडा,स्टिलका भाँडाकुँडा र सि.आर.सीट, जीआई.पाईप लगायतका सामानहरू साउन, भदौ, असोज, कार्तिक मङ्सिर र पुसमा भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्