बैतडीमा दुर्गम क्षेत्रका मतदानस्थलहरुको निरीक्षण
बैतडी। बैतडीको दुर्गम क्षेत्रका मतदानस्थलहरुको निरीक्षण गरिएको छ ।

जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा सुरक्षा योजना लागू गर्न मतदानस्थलहरुको निरीक्षण गरिएको हो ।
मतदाताहरूलाई निर्वाचनको समयमा सुरक्षाको प्रत्याभूत हुने गरी सुरक्षा योजना लागू गर्न सुरक्षा समितिका पदाधिकारीसहित मतदानस्थलहरुको अवलोकन र निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
“निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सबै मतदानस्थलको निरीक्षण गरिएको हो ।”, प्रजिअ पौडले भन्नुभयो, “दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा थियो । निरीक्षण पछिको प्रतिवेदनसमेत तयार भइसकेको छ ।”
सुरक्षाका दृष्टिकोणले यहाँका मतदानस्थलहरुको वर्गीकरण गरेर सुरक्षा योजना तयार भैसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
यहाँका ३३ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएका छन् । सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अति संवेदनशील, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन् ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम रहे जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । २१ फागुनमा हुने निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका उहाँले बताउनुभयो । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई तेस्रो लिङ्गी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्