तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हात्तीपाइले नियन्त्रण चुनौती, ३.५७ लाख लक्षित

बाँके। बाँके जिल्लामा हात्तीपाइले (लिम्फेटिक फाइलेरियासिस) रोगको जोखिम अझै कायमै देखिएपछि १६औँ पटकको आम औषधि सेवन अभियान नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको छ ।

बिहीबार नरैनापुर गाउँपालिकामा अभियान सुरु भएको छ भने शुक्रबारदेखि डुडुवा गाउँपालिकामा औषधि खुवाइने जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन् २०२५ मा गरिएको पछिल्लो सर्वेक्षणले बाँकेको अवस्था अझै जोखिमपूर्ण देखाएपछि यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो ।

सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । १ प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च रहेकाले अभियान प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९, नेपालगञ्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ र डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

अभियानको उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले स्वयं औषधि सेवन गर्दै सबैलाई अनिवार्य रूपमा औषधि खान आग्रह गर्नुभयो । “अब १७औँ पटक अभियान दोहोरिन नदिन सबैले जिम्मेवारीका साथ औषधि सेवन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक तैयब राइनीले विगतमा औषधि नखानुको मुख्य कारण प्रतिअसरको डर र जनचेतनाको कमी रहेको उल्लेख गर्नुभयो । तथ्याङ्कअनुसार ३३.२८ प्रतिशतले प्रतिअसरको डर र ३२.५३ प्रतिशतले जानकारीको अभावका कारण औषधि सेवन नगरेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले एकै चरणमा औषधि सेवन गर्नुपर्ने स्पष्ट पार्नुभयो । “८० प्रतिशत सहभागिता नहुँदा नै १६औँ पटकसम्म अभियान चलाउनुपरेको हो,” उहाँले भन्नुभयो ।

अभियान सञ्चालनका लागि ४५ लाख रुपैयाँभन्दा बढी बजेट खर्च हुने जनाइएको छ । स्वास्थ्य शाखाका अनुसार ग्यास्ट्राइटिस, थाइराइड, रक्तचाप र मधुमेहजस्ता सामान्य समस्या भएका तर दैनिक काम गर्न सक्ने व्यक्तिले औषधि सेवन गर्न सक्छन् । तर दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सात दिन नपुगेका सुत्केरी, सिकिस्त बिरामी तथा केही विशेष रोग भएका व्यक्तिलाई औषधि नखान आग्रह गरिएको छ ।

हात्तीपाइलेजस्तो दीर्घकालीन अपांगता निम्त्याउने रोग निवारणका लागि सबै नागरिकको सहभागिता आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button