विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन
काठमाडौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ ।

सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उहाँको नियात्रा तथा स्मृतिसङ्ग्रह ‘घाटगाउँ’ मङ्गलबार विमोचन भएको हो ।
काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गर्नुभयो । सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिनुभएका उहाँले अध्ययन तथा सङ्घर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेख्नुभयो ।
पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त पुस्तकमा उहाँले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको सङ्घर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिँदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेट्नुभएको छ ।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्ने विष्णुले जानकारी दिनुभयो । “सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यथार्थ, सपना र सङ्घर्ष इमानदारीपूर्वक पुस्तकमा लेखेको छु”, उहाँले भन्नुभयो, “सपनालाई माया गर्ने हर कोहीलाई यो पुस्तकको भोगाइ आफ्नै जस्तो लाग्नेछ ।”








प्रतिक्रिया राख्नुहोस्