पर्सा जिल्ला अदालतद्वारा रास्वपाका सभापति लामिछानेसँग १ करोड धरौटी माग
वीरगञ्ज । पर्सा जिल्ला अदालतले वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले आज भएको थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने आज जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित हुनुभएको थियो । अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिनुभयो ।
लामिछानेले धरौटी बुझाए रिहा हुने नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्ने भट्टराईले बताउनुभयो ।
पर्सा जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबीसहित जेठ ३० गते सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाको अभियोग पत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । लामिछानेमाथि सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछाने सहित २९ जना उपर जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्वल्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्