तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ३३केभी लाइन तथा सबस्टेशन परियोजनालाई तीव्रता दिने सहमति

बाँके। बाँकेको खजुरा र जानकी गाउँपालिकामा निर्माणाधीन ३३ केभी प्रसारण/डिस्ट्रिब्युसन लाइन तथा सबस्टेशन परियोजनालाई तीव्रता दिन सरोकारवालाबीच सम्भावित समस्या पहिचान गरी समाधान गर्ने सहमति भएको छ।

परियोजना कार्यान्वयनमा देखिन सक्ने अवरोध न्यूनिकरणका लागि नेपाल विद्युत् प्राधिकरण, AIIB आयोजना, स्थानीय तह र निर्माण पक्षबीच छलफल तथा समन्वय गरिएको हो।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफान, नेपालगञ्ज वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्र, AIIB फिल्ड इन्चार्ज राजकुमार बोहरा, खजुरा उपवितरण केन्द्र इन्चार्ज दिनेश कुमार वली र निर्माण व्यवसायी त्रिलोक धितालसहितको टोलीले सोमबार परियोजना स्थलको स्थलगत अनुगमन गरेको थियो।

अनुगमनका क्रममा पालिका प्रमुख र वडा अध्यक्षहरूसँग छुट्टाछुट्टै छलफल गरी सरोकारवाला पक्षको सहभागितामा रुट क्लियर गर्दै समस्या समाधान गरिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

हाल खजुरा क्षेत्रमा एउटा मात्र ११ केभी फिडरमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ। वितरण केन्द्र प्रमुख मिश्रका अनुसार सबस्टेशन सञ्चालनमा आएपछि चारवटा ११ केभी फिडर सञ्चालनमा आउनेछन्, जसले खजुरा र आसपासका क्षेत्रमा भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ।

परियोजना सम्पन्न भएपछि वितरण क्षमता सुदृढ भई विद्युत् आपूर्ति प्रणाली मजबुत हुने, ऊर्जा गुणस्तरमा सुधार आउने र लाइन हानि न्यून हुने खजुरा उपवितरण केन्द्रका इन्चार्ज वलीले बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार परियोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्षको असार मसान्तभित्र ३३ केभी लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

लाइन सञ्चालनमा आएपछि गर्मी मौसममा देखिने विद्युत् आपूर्ति समस्या समाधान हुने र उद्योग, व्यवसाय तथा सर्वसाधारणलाई राहत पुग्ने वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button