पर्सा : पुसमा १ सय ७ मुद्दा दर्ता, ठूलो परिमाणमा लागु औषध बरामद
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्सामा पुस महिनामा १ सय ७ वटा विभिन्न अपराध सम्बन्धि मुद्दा दर्ता भएको छ भने सो अवधिमा ठूलो परिमाणमा लागूऔषध बरामद हुनुको साथै ११ करोड बढीको तस्करीको सामान पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पर्सामा जघन्य अपराध सम्बन्धि २६, महिला, बालबालिका, ज्येष्ठ नागरिकका ६ र आर्थिक लेनदेनका २१ वटासमेत गरी १०७ वटा मुद्दा दर्ता भएको बताउनुभयो ।
उहाँले पुस महिनामा एक जना महिलासहित ७९ जना विभिन्न अपराधमा संलग्न भई फरार रहेका प्रतिवादीहरू पक्राउ परेको जानकारी दिनुभयो । पुस महिनामा नौजना महिला, तीन जना बालक, १७ जना बालिका र एक जना ज्येष्ठ नागरिक हराएको उजुरी परेको र त्यसमध्ये एकजना महिला, एकजना बालक, ६ जना बालिका र एक जना ज्येष्ठ नागरिक फेला परेका तथा २१ जना अहिलेसम्म बेपत्ता रहेको बस्नेतले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याङ्कमा पुस १ गते देखि ३० गते सम्म घरेलु हिंसाका ५७ वटा उजुरी परेकामा २९ वटा फर्छ्योट गरिएका, महिला झैझगडा, कुटपिटका ८१ वटा उजुरीमध्ये ५३ वटा फर्छ्योट भएको कुरा उल्लेख छ ।
त्यसैगरी तथ्याङ्कमा प्रहरीले पुष महिनामा ३ सय ८४ किलोग्राम लागुऔषध गाँजा, २ सय ५१ किलोग्राम चरेस, ३ सय ४६ ग्राम खैरो हेरोइन र ११ हजार ६८ ट्याब्लेट नाइट्रोभेट बरामद भएको उल्लेख छ ।
पर्सामा एक महिनाको अवधिमा तीन जनाले विष सेवन र एकजनाले झुन्डिएर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यसैगरी, सो अवधिमा पर्सामा ९८ वटा दुर्घटना भएकोमा २ जनाको मृत्यु तथा १ सय २५ जना घाइते भएको उल्लेख छ ।
पुस महिनामा पर्सा प्रहरीले भन्सार छलीका कपडा, खाद्यान्न, औषधि, हार्डवेयर र सुपारी लगायतका ११ करोड २७ लाख २७ हजार मूल्य बराबरको सामान राजश्व छली भित्र्याइएको अवस्थामा बरामद गरी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान इकाई पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्