मनोनयन दर्ताका लागि समय र रुट तोकियो

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलवार मनोनयन दर्ता हुँदैछ। धनकुटामा मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फरक फरक राजनीतिक दललाई फरक फरक रुट र समय निर्धारण गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले सोमबार एक सूचना जारी गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूका लागि तोकिएको आगमन रुट र समय तालिका सार्वजनिक गरेको हो। कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन सर्वपक्षीय छलफल गरी रुट र समय निर्धारण गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो।
तालिका अनुसार मङ्गलवार श्रम संस्कृति पार्टीलाई मनोनयनको समय बिहान ११ बजे निर्धारण गरिएको छ। श्रम संस्कृति पार्टीलाई यलम्बर चोक वाट भीमनारायण चोक हुँदै धनकुटा नगरपालिका कार्यालयको मार्ग प्रयोग भनिएको छ। नेकपा (एमाले) लाई मनोनयनको समय दिउँसो १ बजे निर्धारण गरिएको छ। एमालेलाई श्रीवानीमा रहेको पार्टी कार्यालय, मदन चोक भीमनायरायण चोक हुँदै आउन भनिएको छ।
नेपाली काँग्रेसलाई मनोनयनको समय साढे १ बजे तोकेर चुवाको बोट भीमनारायण चोक हुँदै आउन भनिएको छ भने नेपाली कम्युनिष्ट पार्टीलाई मनोनयनको समय २ बजे दिएर पार्टी कार्यालय हुँदै मदन चोक, भीमनारायण चोक हुँदै आउन भनिएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साढे २ बजे मनोनयनको समय दिएर माथिल्लो कोप्चेबाट परिचय भीमनारायण चोक हुँदै मनोनयन दर्ताका लागि आउन भनिएको छ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीलाई मनोनयनको समय ३ बजे तोकेर परिचय मोड जिल्ला प्रहरी कार्यालय भीमनाराण चोक हुँदै आउन र नेपाल कम्युनिस्ट पार्टी (बिप्लप) लाई मनोनयनको समय साढे ३ बजे तोकेर मदन चोक जिल्ला प्रहरी कार्यालय हुँदै र जनता समाजवादी पार्टी नेपाललाई ४ बजे मनोनयन गर्न बसपार्क मदन चोक भीमनारायण चोक हुँदै आउन तथा मङ्गोल नेसनल अर्गनाइजेसनलाई दिउँसो साढे ४ बजे मनोनयन गर्न मदन चोक हुँदै जिल्ला प्रहरी कार्यालयको बाटो प्रयोग गरी आउन भनिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलसँगको छलफल पछि रुट र समय निर्धारण गरिएको जनाएको छ। सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई तोकिएको समय र रुटको पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्