तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो उदयपुर महोत्सव माघ २३ देखि फागुन ८ सम्म 

उदयपुर । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित दोस्रो उदयपुर महोत्सव २०८२ माघ २३ गतेदेखि फागुन ८ गतेसम्म गाईघाटस्थित त्रियुगा नगरपालिका–३ को त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सव “कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवको तयारी पूरा भएको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घले दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष गजेन्द्र भगवतले यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवद्र्धन र बजारीकरण गर्ने साझा मञ्च भएको बताउनुभयो ।

१५ दिनसम्म चल्ने महोत्सवमा जम्मा २०० वटा स्टल रहनेछन् । जसमा कृषि तथा घरेलु उद्योग प्रदर्शनी, होटल तथा अटोमोबाइल स्टल, महिला तथा युवा उद्यमीका स्टल, पर्यटन प्रवद्र्धन कक्ष, शैक्षिक सामग्री तथा पुस्तक प्रदर्शनी र स्थानीय तथा जातीय खानाका परिकार समावेश हुनेछन् । आयोजकका अनुसार महोत्सव अवधिभर दैनिक करिब २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवका मुख्य आकर्षणमा टिन डान्स ट्यालेन्ट शो, सुपर ममी डान्स प्रतियोगिता, ताज महल र लण्डन ब्रिजको झल्को दिने सेल्फी पार्क, अत्याधुनिक बाल उद्यान, जलपरी मनोरञ्जन, साथै स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन् । आयोजकका अनुसार बलिउड मेगा स्टार विनोद राठोर लगायत कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button