लालीगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा निकाल्यो दोस्रो जित
काठमाडौँ । एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएको लालीगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा लगातार दोस्रो जित निकालेको छ ।
सातदोबाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा लालीगुराँसले एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएको नव जनजागृति युवा क्लबलाई ४–१ गोलले हराएको छ । लालीगुराँसका लागि आशिष गुरुङले २ तथा दुई विदेशी खेलाडी अब्दुल युसुफ र अकोइटी जुनियरले गोल गरे ।
उमेश सन्जेलले नव जनजागृतिका लागि इन्जुरी समयको पहिलो मिनेटमा सान्त्वना गोल फर्काए । लालीगुराँसले पहिलो खेलमा सहिद स्मारक ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो। नव जनजागृतिको भने यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा नव जनजागृति एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएको चित्लाङ एफसीसँग २–१ ले पराजित भएको थियो । ए डिभिजन लिगका १३ र एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ गरि १७ टोलीले विना रेलिगेसनको राष्ट्रिय लिग खेलिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्