डडेल्धुराका १०४ मतदान स्थलमध्ये ३३ अति संवेदनशील
डडेल्धुरा । डडेल्धुरा जिल्लामा रहेका १०४ मतदान स्थलमध्ये ३३ मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन्। विगतमा भएका गतिविधि तथा शान्ति–सुरक्षाको अवस्थालाई मूल्याङ्कन गर्दै ती मतदान स्थललाई अति संवेदनशील वर्गमा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी (कैलाली) ले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका दृष्टिले मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ। प्रदेशभर रहेका कुल १ हजार १७६ मतदान स्थलमध्ये ४८१ मतदान स्थल अति संवेदनशीलमा परेका छन्। यो कुल मतदान स्थलको करिब ४१ प्रतिशत हो।
प्रदेश प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेशमा ३९५ मतदान स्थल (३३.५८ प्रतिशत) संवेदनशील वर्गमा राखिएका छन् भने बाँकी ३०० मतदान स्थल (२५.५१ प्रतिशत) सामान्य श्रेणीमा छन्।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै मतदान स्थल रहेको कैलाली जिल्लामा २३७ मतदान स्थलमध्ये १०८ अति संवेदनशीलमा परेका छन्। त्यसैगरी कञ्चनपुरमा रहेका १३२ मतदान स्थलमध्ये ६६, डोटीका ११८ मतदान स्थलमध्ये १३, अछामका १३० मतदान स्थलमध्ये ६६ मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेका छन्।
प्रतिशतका आधारमा सबैभन्दा बढी अति संवेदनशील मतदान स्थल बाजुरा जिल्लामा रहेका छन्। बाजुरामा रहेका कुल ७७ मतदान स्थलमध्ये ६२ मतदान स्थल अति संवेदनशील वर्गमा परेका छन्, जुन ८०.५१ प्रतिशत हुन आउँछ। सो जिल्लामा सामान्य श्रेणीका मतदान स्थल जम्मा तीनवटा मात्रै रहेका छन्।
यस्तै, दार्चुलामा रहेका ११२ मतदान स्थलमध्ये १५, बैतडीका १२९ मतदान स्थलमध्ये ३३ तथा बझाङका १३७ मतदान स्थलमध्ये ८५ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्