नरैनापुर गाउँपालिकाद्वारा भूमिहीन परिवारलाई निस्सा
बाँके। नरैनापुर गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारका लागि निस्सा वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ४ अन्तर्गतका २०५ परिवारलाई निस्सा वितरण गरिएको सहायक प्रशासकीय अधिकृत तथा भूमि शाखा प्रमुख भरत महतोले जानकारी दिनुभयो ।
निस्सा वितरण कार्यक्रम वडा नं. ४ का अध्यक्ष मनोज शर्माको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव विशिष्ट अतिथि रहनुभएको थियो ।
निस्सा वितरण गर्दै गाउँपालिका अध्यक्ष शाहले भूमिहीन नागरिकलाई राज्यको मूलधारमा ल्याउन निस्सा वितरण महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले यसले भविष्यमा जग्गा व्यवस्थापन र अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सहज बनाउने उल्लेख गर्नुभयो ।
उपाध्यक्ष श्रीवास्तवले निस्सा वितरणलाई अधिकार प्राप्तिको प्रारम्भिक खुड्किलोका रूपमा उल्लेख गर्दै वर्षौंदेखि अस्थिर जीवन बिताइरहेका परिवारले पहिचान र भरोसाको कागज प्राप्त गरेको बताउनुभयो । महिला, दलित तथा विपन्न समुदायको जीवनस्तर सुधारका लागि पालिका निरन्तर सक्रिय रहने उहाँको भनाइ थियो ।
वडा नं. ४ का अध्यक्ष शर्माले वडामा रहेका वास्तविक भूमिहीन परिवारको पहिचानपछि निस्सा वितरण गरिएको बताउँदै यसले नागरिकमा भरोसा र आत्मसम्मान बढाएको धारणा राख्नुभयो ।
सहायक प्रशासकीय अधिकृत महतोले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन र प्रमाणीकरणपछि निस्सा वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो निस्साले आगामी दिनमा जग्गा व्यवस्थापन र लालपुर्जा प्रक्रियामा सहयोग पुर्याउनेछ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । निस्सा प्राप्त गरेपछि लाभग्राही परिवारहरूले स्थायी समाधानतर्फको प्रक्रिया सुरु भएको अनुभूति व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्