तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारकाे टुंगो लगाउने

काठमाडौँ । नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन आज पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय भएकाले उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन बैठक बोलाइएको हो।

यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले उम्मेदवारका नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा उम्मेदवार चयन गर्ने तयारी गरिएको छ।

अध्यक्ष केपी शर्मा ओलीसहित ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भइसकेको बताइएको छ। हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिन्हबाट उम्मेदवार अघि बढाउने भएको छ।

दुर्गम क्षेत्रका उम्मेदवारलाई निर्वाचन क्षेत्रमा पुग्न र मनोनयनको तयारी गर्न समय लाग्ने भएकाले पनि उम्मेदवारी छिटो टुंग्याउन लागिएको शाहीले बताए। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचनका लागि उम्मेदवार टुंग्याउने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button