अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि नेपालको जित
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि जित हात पारेको छ ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले शुक्रबार श्रीलङ्कालाई २–१ गोलले हराएको हो । यो नेपालको ७ वर्ष पछिको जित हो । नेपालले अन्तिमपल्ट १४ डिसेम्बर २०१८ मा पाकिस्तानलाई २–१ गोलले हराएको थियो ।
पाकिस्तानको इस्लामवादमा भएको ट्राङ्गुलर फुटसल सिरिजमा हात पारेको त्यो नै नेपालले अन्तर्राष्ट्रिय फुटसलमा दोस्रो जित थियो ।
त्यसअघि नेपालले सोही वर्षको फेब्रुअरीमा भएको इन्टरनेसनल सकर फुटसल कपमा टर्कीलाई ९–० ले हराएको थियो । त्यसयता भएका खेलमा नेपाल जितविहीन थियो ।
खेलको १०औँ मिनेटमा मोहमेद साजनको गोलमार्फत श्रीलङ्काले सुरूआती अग्रता लिएको थियो । तर, पाँच मिनेटपछि नै सरोज तामाङले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए ।
पहिलो हाफ १–१ को स्थितिमा सकिएको थियो । तर, २१औँ मिनेटमा सरोजले पुन गोल गर्दै नेपालको जित २–१ ले सुनिश्चित गरे ।








प्रतिक्रिया राख्नुहोस्