सुनसरीमा ट्रक दुर्घटना : पाँच जनाको मृत्यु
इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० बर्षीय टङ्क गुरुङ, २८ बर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा बर्जु गाउँपालिका–१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन् ।
विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको उहाँले बताउनुभयो । ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताउनुभयो ।
दुर्घटनामा घाइतेका भएकालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।
(((








प्रतिक्रिया राख्नुहोस्