माई मेलाबाट फर्किँदै गरेको पिकअप गाडीसँग बस ठोक्किँदा आमा/छोराको मृत्यु, ११ जना घाइते
भद्रपुर, झापा । झापाको कनकाईमा आज माई मेलाबाट फर्किँदै गरेको पिकअप गाडीसँग यात्रुवाहक बस ठोक्किँदा आमा/छोराको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पिकअपमा सवार भद्रपुर नगरपालिका ८ की ४० वर्षीया सुष्मा राजवंशी र उनका डेढ वर्षीय बालक आरुत राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका ३ स्थित नयाँ बस्तीमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालवाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा माई नदीमा ठूलो मेला लाग्ने गरेको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्