जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल अन्तिम चरणमा, जनशक्ति व्यवस्थापन मुख्य चुनौती
बाँके । बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अन्तिम चरणमा पुगेको छ। अस्पताल पूरा हुने संघारमा पुगेसँगै उपचारका लागि नेपालगञ्ज, कोहलपुर वा भारत जानुपर्ने बाध्यता अन्त्य हुने आशा स्थानीयमा बढेको छ।
७ हजार २ सय ६३ घरधुरी र ४६ हजार ५ सय ३६ जनसंख्या रहेको जानकी गाउँपालिकामा यसअघि सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने अवस्था थियो। समयमै उपचार नपाएर ज्यान गुमाएका घटनाहरू स्थानीयले अझै बिर्सेका छैनन्। अहिले भने अस्पतालको भवन उभिएसँगै भरोसा पलाएको छ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको बताउँदै भवनसँगै जनशक्ति अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले केन्द्र र प्रदेश सरकारसँग डाक्टर, नर्स, ल्याब टेक्निसियन र आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ। “जनशक्ति बिना अस्पताल सञ्चालन सम्भव हुँदैन,” उहाँको भनाइ छ।
वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिनानाथ यादवले अस्पतालको करिब ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र दुई महिनाभित्र भवन हस्तान्तरण हुने जानकारी दिनुभयो। उहाँले अस्पताललाई गाउँमै आधारभूत सेवा सुनिश्चित गर्ने महत्वपूर्ण संरचना बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले अस्पताल सञ्चालनमा आएपछि सेवा प्रवाहमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो। वरिष्ठ लेखा अधिकृत मतिन अन्सारीका अनुसार अस्पताल निर्माणका लागि १७ करोड ५४ लाख रुपैयाँको लागत अनुमान गरिएकोमा करसहित ११ करोड ४४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
स्थानीयवासीहरूले भवन बनेकोमा खुसी व्यक्त गरे पनि जनशक्ति नआए सेवा नपाइने चिन्ता व्यक्त गरेका छन्। उनीहरूको साझा माग छ—भवनसँगै राज्यले तत्काल स्वास्थ्यकर्मी व्यवस्था गरोस्।
जानकी गाउँपालिकाका लागि यो अस्पताल संरचना मात्र होइन, राज्यको प्रतिबद्धताको परीक्षा बनेको छ। जनशक्ति सुनिश्चित भएमा मात्र ४६ हजारभन्दा बढी नागरिकका लागि यो अस्पताल व्यवहारिक र प्रभावकारी बन्ने स्थानीयको अपेक्षा छ।








प्रतिक्रिया राख्नुहोस्