तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

कञ्चनपुर । राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव बोहराको बुधबार दिउँसो उपचारका क्रममा ७३ वर्षको उमेरमा निधन भएको छ । 

कञ्चनपुरको वेदकोट नगरपालिका स्थायी घर भई हाल ललितपुरमा बसोबास गर्दै आउनु भएका बोहरा विगत लामो समयदेखि मधुमेहबाट ग्रसित रहनु भएको थियो । मृगौलामा समस्या देखिएपछि उहाँ डायलासिस गराइरहनु भएको थियो । नसामा समस्या आएपछि शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँ केही समययता काठमाडौँ मेडिकल कलेजमा उपचाररत हुनुहुन्थ्यो ।

बुधबार दिउँसो करिब ३ बजे उहाँको निधन भएको परिवारका सदस्य तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जानकारी दिनुभयो । उहाँको अन्तिम दाहसंस्कार बिहीबार बिहान ९ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गर्नु भएका बोहरा २०४९ देखि २०५४ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरको सभापति रहनु भएको थियो । २०७० सालमा समानुपातिक तर्फबाट दोस्रो संविधानसभा सदस्य बन्नु भएका बोहरा २०८० सालयता राष्ट्रिय सभा सदस्यको जिम्मेवारीमा रहनु भएको थियो । स्वर्गीय बोहराको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button