तपाईँ सुन्दै हुनुहुन्छः

माघे सङ्क्रान्तिको अवसरमा पोखरामा डेढ करोड रुपैयाँ बराबरको कन्दमूल भित्रियो

पोखरा । माघे सङ्क्रान्तिको अवसरमा पोखरामा करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमूल भित्रिएको छ । माघे सङ्क्रान्तिमा विशेष रूपमा खाइने तरुल, सखरखण्डलगायतका कन्दमूल कास्कीका विभिन्न स्थानसँगै छिमेकी सहित देशका अन्य जिल्ला हुँदै भारतबाट समेत भित्रिएको व्यवसायीहरूले बताउनु भएको छ ।

पोखराको शान्ति वन वाटिकास्थित कृषि उपज बजार व्यवस्थापन (फलफूल तथा तरकारी बजार) देखि विभिन्न कृषि उपज बजार र फलफूल–तरकारी पसलहरूमा कन्दमूलको बिक्रीका लागि राखिएको छ। बजारमा विभिन्न जातका तरुल न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २०० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भइरहेको छ ।

पोखराका कन्दमूल व्यवसायी डम्बर बहादुर थापा अनुसार पन्जे तरुल प्रतिकेजी ७० रुपैयाँ, भैँसे तरुल ४५ देखि ५० रुपैयाँ, घर तरुल ७० देखि ७५ रुपैयाँ, सखरखण्ड ५० देखि ६५ रुपैयाँ र वन तरुल प्रतिकेजी २०० रुपैयाँमा बिक्री भइरहेको छ । होलसेल मूल्यको तुलनामा खुद्रा बजारमा करिब ३० देखि ७० प्रतिशतसम्म मुनाफा हुने गरी कन्दमूलको कारोबार भइरहेको उहाँले बताउनुभयो। उहाँले सिजनको कन्दमूलको व्यापार ४/५ लाखको गर्दै आउनु भएको छ । पोखरामा भारत सहित तनहुँ, गोर्खा, सर्लाही, हेटौँडा, पाल्पा, नवलपरासी लगायतका क्षेत्रबाट कन्दमूल भित्रिएको छ ।  

पोखराको श्री कम्प्लेक्स कृषि उपजका एक व्यवसायी धर्म प्रसाद तिमिल्सिनाले यस बर्ष आफूले कन्दमूलबाट एक महिनाको आम्दानी हुने गरी व्यापार गर्ने बताउनु भयो । उहाँले भन्नुभयो“ यो सिजनको व्यवसाय हो, यस सिजनमा कम्तीमा पनि मैले ५० हजार आम्दानी गर्ने लक्ष्य राखेको छु, पछिल्लो समयमा कन्दमूलमा मानिसहरूको रुचि कम भएको जस्तो हामीलाई भान भएको छ । ” यस बर्ष भने पोखरामा कन्दमूल एक दीन अघि देखि बिक्री वितरण भएको उहाँले बताउनु भयो ।

जाडो मौसममा कन्दमूल सेवन गर्दा शरीरलाई आवश्यक ऊर्जा र खनिज पदार्थ प्राप्त हुने भएकाले यसको महत्व अझ बढ्ने गरेको अग्रजहरूको भनाइ छ । यसैबीच, माघे सङ्क्रान्तिको अवसरमा पोखराको ढुङ्गे साँघु क्षेत्रमा परम्परागत मेला लाग्ने गर्दछ । सोही अवसरमा भोलि (बिहीबार) त्यहाँ ‘हार्ट बजार’ समेत सञ्चालन हुने भएको छ । पछिल्लो समय मानव बस्ती विस्तारसँगै सितापाइला क्षेत्रमा खुला जमिनको अभाव हुँदा सडकमा अत्यधिक भिडभाड हुने गरेको छ । मेलासँगै विभिन्न खेलकुद प्रतियोगिताहरू पनि आयोजना हुँदै आएका छन् ।

तरुल तथा कन्दमूल खादा मानव स्वास्थ्यका लागि फाइदाजनक हुने बताउनु भयो । कन्दमूल जमिन मुनि फल्ने हुनाले भिटामिन सी, कार्बोहाइड्रेट, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरीरका लागि आवश्यक तत्त्व पाइने चिकित्सकहरूले बताउँदै आउनु भएको छ । कन्दमूलमा प्रोटिन भने कम पाइन्छ आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ  भने मृगौला रोगीका बिरामीले यसको प्रयोग नगर्दा उचित हुने चिकित्सकको सुझाव दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button