तपाईँ सुन्दै हुनुहुन्छः

१५ शय्याको प्रहरी अस्पताल सञ्चालन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतको वीरेन्द्रनगरमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्पताल भवनको उद्घाटन गर्दै जनस्तरसँग गाँसिएको संस्था भएकाले अस्पतालबाट दिने सेवाले अर्थ राख्ने बताउनु भएको हो । 

उहाँले सुर्खेतमा जनघनत्व बढिरहेकाले त्यसको तुलनामा स्वास्थ्य क्षेत्रको विविधतायुक्त सेवा प्रदान गर्न आवश्यक रहेको औँल्याउनु भयो । नेपाल प्रहरीका अन्य संरचना नहुँदा पनि स्वास्थ्यजस्तो जटिल विषय ध्यानमा राखेर सेवा दिएको देख्दा खुसी लागेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सङ्कटको सारथिका रुपमा रहेको नेपाल प्रहरी उद्धार, राहत मात्र नभएर नागरिकको स्वास्थ्य उपचारमा पनि सक्रिय भएको देख्न पाउँदा खुसी लागेको बताउनु भयो । 

प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) माधव श्रेष्ठले प्रदेश प्रहरी कार्यालयभित्र रहेको १५ शय्याको अस्पतालमा प्रहरीमात्र नभई नागरिकले पनि सहजै उपचार सेवा पाउने जनाउनु भयो । अस्पतालमा अन्तरङ्ग विभाग, ल्याब, फार्मेसी, माइनर अप्रेसन, ओपिडी सञ्चालन हुने भएका छन् । कर्णालीका १० जिल्लाका बहालवाला प्रहरी, तिनका  आश्रित परिवार र भूपू प्रहरी, अमर प्रहरीलगायत सर्वसाधारणलाई उपचार सेवा दिनु अस्पतालको उद्देश्य रहेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button