डोल्पामा २४ जम्मा हजार मतदाता
डोल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि डोल्पाबाट जम्मा २४ हजार १ सय १५ जनाले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालय डोल्पाले दोहोरिएका, मृत्यु भएका, बसाइँसराइ गरे लगाएतका मतदाता नामावली अध्यावधिक पछि अन्तिम नामावली सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र एउटा मात्र रहेको डोल्पामा आउँदो फागुन २१ गते हुने निर्वाचनको लागि २४ हजार १ सय १५ जना मतदाताले मतदान गर्न पाउने छन् ।
डोल्पाको त्रिपुरा सुन्दरीमा सबैभन्दा धेरै मतदाता रहेका छन् भने सबै कम मतदाता छार्काताङसोङ गाउँपालिकामा रहेका छन्। डोल्पाको त्रिपुरा सुन्दरीमा ६ हजार ८ सय ५ जना मतदाता रहेका छन्। ठुली भेरी नगरपालिकामा ५ हजार ४ सय ७५ मतदाता रहेका छन्। मुड्केचुला गाउँपालिकामा ३ हजार २ सय ८५ मतदाता रहेका छन्। जगदुल्ला गाउँपालिकामा १ हजार ७ सय ८४ मतदाता रहेका छन्। काईके गाउँपालिकामा २ हजार ४ सय मतदाता रहेका छन्। शे–फोक्सुन्डो गाउँपालिकामा २ हजार १ सय ३० मतदाता रहेका छन्। डोल्पोबुद्व गाउँपालिकामा १ हजार २ सय ५३ मतदाता रहेका छन्। छार्काताङसोङ गाउँपालिकामा ९ सय ८३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।
चार हजार मतदाता मतदानबाट बञ्चित हुँदै
हिमाली जिल्ला डोल्पा भौगोलिक रुपमा विशाल र विकट छ । माथिल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र डोल्पोबुद्व गाउँपालिका भित्र बसोबास गर्ने स्थानीय बासिन्दा कार्तिक महिनाको अन्तिम देखि चैत महिनाको अन्तिम सम्म मौसमी बसाइँसराइ गरि तल्लो डोल्पा लगायत तराईका विभिन्न स्थानमा बसोबास गर्ने गर्दछन्।
डोल्पाको उच्च भेगमा हिउँदमा हिमपातसँगै अत्यधिक जाडो हुने भएको हुँदा करिब ५ महिना गाउँ घर छोड्ने गर्दछन्। आगामी फागुन २१ गते निर्वाचन भयो भने माथिल्लो डोल्पाका ४ हजार ३ सय ६६ मतदाता मतदान गर्नबाट बञ्चित हुने अवस्था देखिएको छ।
माथिल्लो डोल्पाका सबै नागरिक तराईका विभिन्न स्थानमा झरेका छन्। यो समय गाउँमा कुनै पनि मतदाता छैनन्। कार्तिक मंसिरमा परेको हिमपातले माथिल्लो डोल्पाको सबै बाटो नाकाहरू बन्द छन्। मतदाता गाउँ तथा मतदान स्थलमा जान सक्ने अवस्था छैन। यदि फागुन २१ मा निर्वाचन हुने हो भने राज्यले वैकल्पिक उपाय बनाइदिनु पर्ने अवस्था आएको शे–फोक्सुन्डो गाउँपालिका डोल्पाका अध्यक्ष धावा सम्दुक गुरुङले बताए । माथिल्लो डोल्पाका नागरिक पनि राज्यका नागरिक भएको हुँदा मतदान गर्ने वातावरण बनाउन पनि अध्यक्ष गुरुङले सरकारलाई अनुरोध गरेका छन्।
सरकारले निर्वाचन गर्न लागेको यो समय अत्यधिक चिसो हुने भएको र हिमपातले बाटोहरू बन्द भएको हुँदा फागुन २१ अगाडि माथिल्लो डोल्पा जान नसकिने स्थानीयहरूले बताएका छन्। निर्वाचन सामाग्री र कर्मचारी त हेलिकप्टरबाट जालान् तर हामी कसरी गएर मतदान गर्ने भन्ने चिन्ता रहेको माथिल्लो डोल्पा बासीको छ। माथिल्लो डोल्पाका मतदान केन्द्रहरूमा फागुन २१ मा निर्वाचन गर्न चुनौतीको विषय बनेको छ।








प्रतिक्रिया राख्नुहोस्