निर्वाचन सुरक्षित बनाउन सुरक्षा व्यवस्था सुदृढ: गृहमन्त्री अर्याल
जनकपुरधाम। गृहमन्त्री ओम प्रकाश अर्यालले अगामी फागुन २१ गते हुने चुनावलाई सफल बनाउनका लागि सरकारले सुदृढ शान्ति सुरक्षा व्यवस्था मिलाउने गरी अगाडी बढेको बताउनुभएको छ ।

गृहमन्त्री अर्यालले मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
उहाँले नेपाल सरकार चुनावलाई सफल बनाउन शान्ति सुरक्षा स्थापना गर्न तथा निर्वाचनको तयारीमा लागेका निर्वाचन आयोगलाई चाहिने हरेक प्रकारका सहयोग गरिरहेको बताउनुभयो ।
गृहमन्त्री अर्यालले प्रतिनिधि सभाको चुनावलाई स्वतन्त्र, निष्पक्ष तथा धाँधली रहित रूपमा सम्पन्न गराउनमा सुरक्षा फौजको महत्त्वपूर्ण भूमिका हुने भएकाले सुरक्षा फौजको मनोबल उठाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
उहाँले आफूहरू युवा पुस्ताको आन्दोलनको मर्म पुरा गर्न तथा ६ महिना भित्रमा चुनाव सम्पन्न गर्नका लागि, लागि परेको बताउनुहुँदै चुनावप्रति अहिले सम्पूर्ण देश नै होमिएकाले आशङ्का गर्ने कुनै ठाउँ बाँकी नरहेको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले निक्कै पहिला नै प्रहरी समायोजन सम्बन्धी ऐन बनाएकाले सो ऐन अनुसार चाँडो भन्दा चाँडो प्रहरी समायोजन गर्नका लागि आग्रह गर्नुभयो ।
उहाँले संविधानले नै दिएको संवैधानिक अधिकार अनुसार मधेश प्रदेश सरकारसँग आफ्नो प्रहरी नभएका कारणले प्रदेशमा शान्ति सुरक्षा स्थापनामा समस्या भइरहेको बताउँदै वर्तमान सरकारलाई प्रहरी समायोजनका काम पुरा गर्नका लागि आग्रह गर्नुभयो ।
गृह मन्त्रालयका सचिव राज कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतो, मधेश प्रदेशका कायम मुकायम मुख्य सचिव कमल प्रसाद भट्टराई, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक देवेन्द्र कार्की सहभागी रहनुभएको थियो ।
मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मधेश प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा जिल्लामा रहेका नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरू सहभागी रहनु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्