तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीको उपस्थितिमा सिंहदरबारमा ‘स्वजागरण कार्यक्रम’ सम्पन्न

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज सुशासन र समृद्धिका लागि लक्षित ‘स्वजागरण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न भएको हो।

प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचार र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नेपालमा देखिएका विविध सामाजिक–राजनीतिक आन्दोलन तथा जेनजी पुस्ताको सदाचार र सुशासनको बढ्दो मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको अभिन्न हिस्सा बनाउनु अपरिहार्य भएको प्रधानमन्त्री कार्कीले बताउनुभयाे।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यसले व्यक्तिलाई आन्तरिक रूपमा खुसी र शान्त रहन सिकाउँछ भने बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्‍याउँछ।”

उहाँका अनुसार स्वजागरणले पहिले व्यक्तिलाई व्यवस्थित, अनुशासित र सचेत बन्न प्रेरित गर्छ र त्यसपछि परिवार, समाज तथा राष्ट्रप्रति जिम्मेवार बन्न उत्प्रेरित गर्दछ। “स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैँसँग गर्छ,” प्रधानमन्त्री कार्कीले जोड दिनुभयो।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले कार्यक्रममा स्वजागरणसम्बन्धी प्रवचन दिनुभएको थियो। उहाँले स्वजागरणलाई व्यक्तिको आन्तरिक रूपान्तरणसँगै समाज र राष्ट्र निर्माणमा सहयोग गर्ने जीवन पद्धतिका रूपमा व्याख्या गर्नुभयो।

कार्यक्रममा विभिन्न मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापति लगायत सुरक्षा निकायका उच्च अधिकारीहरू, मुख्य सचिव तथा सचिवहरू, विभागीय प्रमुखहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button