तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुर गाउँपालिकाद्वारा चिसो प्रभावित परिवारलाई न्यानो कपडा वितरण

बाँके । तराई क्षेत्रमा बढ्दो जाडो र शीतलहरका कारण जनजीवन प्रभावित बन्दै गएको अवस्थामा बाँकेको नरैनापुर गाउँपालिकाले राहत कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले १२८ जना भूमिहीन दलित परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।

चिसो मौसममा न्यानो कपडाको अभावले जोखिममा परेका दलित परिवारको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाको आयोजना तथा रेन परियोजनाको आर्थिक सहयोगमा पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका कम्बल, ज्याकेटलगायत न्यानो कपडा वितरण गरिएको हो ।

यसैबीच नरैनापुर गाउँपालिका–६ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अशक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो सिरक वितरण गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रेम मौर्यले चिसोबाट सबै वर्गलाई सुरक्षित राख्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । उहाँले जाडो मौसममा बढी जोखिममा रहने ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले चिसोका कारण कुनै पनि नागरिक पीडामा नपरोस् भन्ने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यस सहयोगले कमजोर वर्गलाई तत्काल राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

लाभग्राहीहरूले न्यानो कपडा र सिरक पाउँदा खुसी व्यक्त गर्दै गाउँपालिका र सहयोगी निकायप्रति आभार जनाएका छन् ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोजकुमार शर्मा, भूमि शाखा प्रमुख भरत महतो, विपद् शाखा प्रमुख विनोद चौधरी तथा रेन परियोजनाका प्रतिनिधि विनयराज त्रिपाठीसहित जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button