नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण
काठमाडाैँ। नव गठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शपथग्रहण कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएर उहाँहरूले अन्य सदस्यहरूलाई शपथ गराउनुभयो । संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईँले शपथ गराउनुभएको थियो ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित नेपाली कम्युनिस्ट पार्टीमा २ हजार ४ सय ९९ केन्द्रीय सदस्य रहने बताइएको छ ।
शपथग्रहण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुरानै ढङ्गले विकसित परिस्थितिको सामना गर्न नसकिने भएकाले पार्टी एकता तथा रूपान्तरण गरिएको र पार्टी एकता अझै बढाउँदै लैजाने बताउनुभयो ।
संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि नवयुवाहरूले सामाजिक न्याय र समृद्धि चाहेको र भ्रष्टाचारमुक्त समाजको परिकल्पना गरेकाले त्यस्तो समाज बनाइछाड्ने अपिल आफूहरूले गरेको बताउनुभयो ।
उहाँले पार्टी एकतामात्र नभएर राष्ट्रिय एकतालाई नै सुदृढ गर्नु रहेको भन्दै सँगसँगै वाम एकतालाई पनि सुदृढ गर्नु आवश्यक रहेकाले सबैले आ–आफ्नो ठाउँबाट सामना गर्न सक्नुपर्ने पनि बताउनुभयो ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पार्टीका लागि अग्नि परीक्षा रहेको बताउँदै चुनाव तयारीमा जुट्न आग्रह गर्नुभयो ।
उहाँले निर्वाचन परिचालन कमिटी संयोजक प्रचण्डको संयोजकत्वमा बनाउने र चुनावी घोषणापत्र कमिटी नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाउने तय भइसकेको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्