काँग्रेस विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सार्वजनिक गर्नुभएको कार्यतालिका अनुसार आज साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन तथा मतदाता नामावलीउपरको दाबी विरोधमाथि छलफल भइरहेको छ ।
निर्वाचन कार्यतालिकामा दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ ।
यस्तै आगामी नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मनोनयन दर्ताको काम चलिरहेको र साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने विशेष महाधिवेशन जिल्ला क्षेत्र समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।
यसैबिच नेपाली काँग्रेसमा देखिएको विवाद समाधानका लागि विभिन्न तहमा त्रिपक्षीय छलफल भइरहेको छ ।
पार्टीमा सहमति खोज्नका लागि आज बिहानैदेखि संस्थापन र विशेष महाधिवेशन पक्षका नेताहरू संवादमा जुटिरहनुभएको छ ।
सहमतिको प्रयासका लागि विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे, सभापति शेरबहादुर देउवाको पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा वरिष्ठ नेता शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल छलफलमा जुटिरहनुभएको छ ।
आज बिहानको बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्ने, पार्टी एकता कायम राख्ने लगायतका विषयमा छलफल भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्