कला र कलाकार जोगाउन ‘लाइभ पेन्टिङ’
काठमाडौँ । एक हातमा ‘ब्रस’ र अर्को हात ‘नाइफ’सँगै सेतो क्यान्भासमा रङ्ग पोतिरहनुभएको थियो, पाका पुस्ताका कलाकार किरण मानन्धर ।

आफ्नै धुनमा क्यानभास रङ्गाउनमा व्यस्त देखिनुभएका किरणको कला देखेर नेपाल–जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष सन्तोषचन्द्र कुँवर र कलाकार अनिता भट्टराईले कला र व्यवसायको अन्तर–सम्बन्ध जोड्ने योजना बुन्दै हुनुहुन्थ्यो । उहाँको मुख्य चासो नै कलाकारको मेहनत व्यवसायीले महसुस गरिदिनुपर्नेमा केन्द्रित थियो ।
काठमाडाँैमा आज आयोजित नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टीको ३० र ३१ औँ वार्षिक साधारण सभामा व्यवसाय र कलाकारबिचको सहकार्य यसरी झल्किएको थियो । जसलाई कलाकार समेत रहनुभएकी अनिता भट्टराईले कला संयोजन गर्नुभएको थियो ।
लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको कार्यक्रममा पाका र युवाहरू गरी १३ जना कलाकारले स्थलगत चित्रकला (लाइभ पेन्टिङ) कार्यशाला गर्नुभएको थियो । भट्टराईका अनुसार कलाकारको महत्वलाई प्रोत्साहन गर्न व्यवसायीको ठूलो सहकार्य आवश्यक हुने गर्छ । उहाँ पछिल्लो केही वर्षदेखि अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा नेपाली कलाकारको कला व्यवसायलाई विस्तार गर्न प्रयत्नशील हुनुहुन्छ । उहाँको विचारमा कला सङ्कलक र कला पारखीबिच अन्तर छ ।
कमर्सका अध्यक्ष कुँवरले भट्टराईको कलालाई व्यवसायमा जोड्ने अभियानलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । त्यसैले पहिलोपटक कमर्सको साधारण सभामा कलाकारलाई बोलाएर कार्यशाला गर्नुका साथै उहाँहरूको कलाकृति बिक्री गराउने माहोल समेत जुटाउन लागिएको बताउनुभयो ।
ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहनुभएका कलाकार किरणले अमूर्त आकृति क्यानभासमा उतार्नुभएको थियो । यसरी प्रत्यक्ष चित्र कोर्न पाउँदा दर्शकले कलाकारको रङ्ग र क्यानभासको प्रक्रिया नियाल्ने मौका पाउने उहाँले सुनाउनुभयो ।
व्यवसायी राजीव मङ्गल जोशीले देशको कलाकार र कलाकृतिको संरक्षण गर्ने दायित्व व्यवसायीहरूको पनि रहेको बताउनुभयो । चेम्बरका महासचिव एलेक्स लाल मोक्तानले आगामी दिनमा पनि चेम्बरबाट हुने अन्य गतिविधिमा कलाको सहभागिता जोड्दै जाने योजना रहेको सुनाउनुभयो ।
स्थलगत चित्र कार्यशालामा किरणसँगै चित्रकार चिराग वाङ्देल, डिबी राई, सागर मानन्धर, प्रभात श्रेष्ठ, विभूषण ताम्राकार, ओम गुरुङ, विकुकुमार थापा, मन गुरुङ, मङ्गल प्रजापति, सुवास खड्का, श्याम फुयाँल, युगदास मानन्धरलगायतका कलाकारले क्यानभास नङ्ग्याएका थिए ।








प्रतिक्रिया राख्नुहोस्