तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायको संस्कृति संरक्षण गर्न खिचरा महोत्सव हुने

चितवन । थारू संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यही पौष २९ गतेदेखि ११ औँ खिचरा महोत्सव–२०८२ आयोजना गर्न लागिएको छ । थारू कल्याण कारिणी सभा क्षेत्र नं ७ को आयोजनामा पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

माघी पर्वको अवसर पारेर थारू समुदायको सांस्कृतिक, भेषभूषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारू खानाका परिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विसं २०७० सालदेखि हरेक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न ३५१ सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो सान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा १५० स्टल रहनेछन् । त्यसमध्ये थारु जातिलगायत विभिन्न जातिका खानाका परिकारहरू बिक्री वितरणका लागि २४ वटा स्टल रहने चौधरीले जानकारी दिनुभयो । महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा तथा ओपेरा हाउस निर्माण समेत गरिने छ ।

महोत्सवलाई चितवनवासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताउनु भयो  । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवम् शैक्षिक, वित्तीय संस्था र विभिन्न सङ्घसंस्थाका स्टलहरू रहनेछन् ।

माघ १ गतेबाहेक हरेक दिन दिउँसो १ः०० बजेसम्म निःशुल्क प्रवेशको व्यवस्थासमेत आयोजकले मिलाएको छ । त्यसपश्चात् प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश टिकटको व्यवस्था रहेको छ भने विद्यार्थीका लागि ७० रुपैयाँ शुल्क तोकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button