राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेश तर्फका २ सिटमा उम्मेदवारी दिएका ६ जना उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको बागमती प्रदेश निर्वाचन निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयका अनुसार सोमबार अन्तिम नामावलीमा कायम उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिएको हो । महिला क्लस्टरमा एमाले–कांग्रेस गठबन्धनबाट चितवनकी गीता देवकोटालाई कांग्रेसको ‘रुख’ चिन्ह प्रदान गरिएको छ । भने, अन्य समूह तर्फ गठबन्धनबाट उम्मेदवार बन्नुभएका काठमाडौँका डा. प्रेमप्रसाद दंगाललाई एमालेको ‘सूर्य’ चिन्ह प्रदान गरिएको छ ।
त्यस्तै महिला क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झालाई ‘पाँचकुने तारा’ र नेमकिपाकी कविता महर्जनलाई ‘मादल’ चिन्ह प्रदान गरिएको छ । यस्तै, अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटालाई ‘पाँचकुने तारा’ र नेमकिपाका विक्रम डुकुछुलाई ‘मादल’ चिन्ह प्रदान गरिएको छ ।
राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौँडा–४, स्थित भुटनदेवी माविमा मतदान हुनेछ । बागमती प्रदेशबाट आगामी फागुनमा २ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । निर्वाचनमा प्रदेश सभाका सदस्य तथा पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्