उदयपुरको बेलकामा जङ्गली हात्तीको आतङ्क
उदयपुर । उदयपुर जिल्लामा जङ्गली हात्तीको आतङ्क तीव्र हुँदै जाँदा एक सातामा ८ लाख भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्लाको बेलका नगरपालिका–२ का विभिन्न स्थानमा जङ्गलबाट आएका जङ्गली हात्तीले एक साताको अवधिमा घर, भान्सा घर तथा खेतबारीहरूमा ठूलो क्षति पुर्याएका छन् ।
गत पुस २२ गतेदेखि आज २८ गतेसम्म जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै अन्नपात, बाली र संरचनामा क्षति पुर्याउँदा करिब ८ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको नोक्सानी भएको उदयपुर प्रहरीले जानेको छ ।
पछिल्लो समय हात्तीको आतङ्कका कारण उदयपुरमा स्थानीयवासी त्रसित बनेका छन् । रातको समयमा घर बाहिर निस्कन नसक्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले स्थायी समाधानको माग गरेका छन् । घटनापछि नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जङ्गली हात्तीलाई जङ्गलतर्फ लखेटिएको भए पनि हात्ती पुनः बस्ती पस्ने जोखिम कायमै रहेको स्थानीयको गुनासो छ ।
स्थानीय प्रशासन र वन कार्यालयसँग समन्वय गरी क्षतिको उचित राहत, मुआब्जा तथा दीर्घकालीन नियन्त्रणका उपाय अवलम्बन गर्न समेत स्थानीयहरूले माग गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्