तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती राजमार्ग दैनिक ६ घण्टा बन्द हुने 

सल्यान । राप्ती राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । 

राप्ती राजमार्ग अन्तर्गत दाङ –सल्यान खण्डको पैयाखरेदेखि राम्री सडक स्तरोन्नति तथा चौडा गर्न भन्दै माघ ८ देखि २५ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो । 

सडक डिभिजन कार्यालय दाङका अनुसार पैयाखरेदेखि राम्रीसम्मको सडक खण्ड आगामी माघ ८ गतेदेखि माघ २५ गतेसम्म दैनिक दिउँसो ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सञ्चालन गरिने छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टका अनुसार उक्त खण्डमा सडक चौडा गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ । 

गत वर्ष राम्री–कपुरकोट सडक खण्डमा दिउँसोको समयमा सवारी आवागमन बन्द गरी काम गर्दा सहज भएको अनुभवका आधारमा यस वर्ष पनि सोही मोडालिटी अपनाइएको उहाँले जानकारी दिनुभयो ।

निर्माण अवधिभर साना तथा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । साथै आवश्यक सहजीकरण तथा ट्राफिक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय दाङ र सल्यानसँग समन्वय गरिएको जनाइएको छ ।

यात्रुहरूले पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट सडक तथा तुलसीपुर–कालिमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने छन् । निर्माण अवधिमा यात्रा गर्ने यात्रु, सवारी चालक तथा सरोकारवालालाई तोकिएको समय र वैकल्पिक मार्गलाई ध्यानमा राखी यात्रा योजना बनाउन आग्रह गरिएको छे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button