एक पक्षको विमतिका बीच आजदेखि काठमाडौँमा काँग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु

काठमाडौँ । नेपाली काँग्रेसको एक पक्षको विमतिका बीच आज देखि काठमाडौँमा पार्टीको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ ।
नेपाली काँग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले गत असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता गरेको विशेष महाधिवेशनको माग अनुसार आयोजना भएको विशेष महाधिवेशन आजदेखि सुरु भएको हो ।
विशेष महाधिवेशनको नेपाली काँग्रेसका दुई महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
नेपाली काँग्रेस काठमाडौँका सभापति कृष्णसबुज बानियाँको अध्यक्षतामा काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरूले जेन्जी आन्दोलन पछिको विशेष परिस्थिति र बदलिँदो परिवेश अनुकूल नेपाली काँग्रेसलाई परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक परेको बताउनुभयो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले काँग्रेसलाई जिउँदो बनाएको र र जिउँदो काँग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्ने बताउनुभयो ।
महामन्त्री थापाले विशेष महाधिवेशनले पार्टीका कार्यकर्तालाई थप शक्तिशाली बनाएको उल्लेख गर्नुहुँदै यसले पार्टी विभाजन गर्ने नभई थप बलियो बनाएर लैजाने बताउनुभयो ।
यस्तै काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले देशलाई समुन्नतिको उचाइमा लिएर जान सक्ने सामर्थ्य राख्ने गरी काँग्रेसलाई बदल्न आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टीलाई समयको माग अनुसार चल्ने र नयाँ पुस्तामा भरोसा दिलाउन सक्न बताउन विशेष महाधिवेशन सफल हुने बताउनुभयो ।
विशेष महाधिवेशनको उद्घाटन अघि नेपाली काँग्रेसका नेता–कार्यकर्ताहरू काठमाडौँका विभिन्न स्थानमा भेला भई र्याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।
आजबाट सुरु विशेष महाधिवेशनका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाउँदै आएको छ ।
पार्टीको संस्थापन पक्षले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने तालिका निर्धारण गरी प्रक्रिया समेत सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको बताउँदै आएको छ ।
काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधिहरूको मागलाई संस्थापन पक्षले सम्बोधन नगरेपछि महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन सुरु भएको हो ।
यसैबीच नेपाली काँग्रेस दोस्रो विशेष महाधिवेशन सहभागी हुन ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराइसकेको काँग्रेस नेता देवराज चालिसेले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको देशभरमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिहरू छन् ।
महाधिवेशनको बन्द सत्र भोली सोमबार बिहान ८ः०० बजेदेखि सुरु हुने र विशेष महाधिवेशनको बाँकी कार्यभार बन्द सत्रले नै तय गर्ने आयोजक नेताहरूले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्